ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)
धार्मिक सहिष्णुता खल्बलिने र भातृत्व भाँडिने खतरा भएको परिस्थितिमा वैदिक सनातन धर्मको तथ्य र वास्तविकताहरु लेख्नैपर्ने आवश्यकता महसुस गरे । चुरो कुरो थाहा नपाउँदा तथाकथित पण्डितहरुको अर्धज्ञान, अहं र पाखण्डी स्वभावको कारणले धर्मलाई अपब्याख्या गरेको पाइन्छ । पबित्र गायत्री मन्त्रलाई पण्डित भनाउँदा बाहुनहरुले गोप्य राखेको कुरा त सर्वबिदितै छ । अन्धो मानिसहरुले छामेर हात्तीको आकार अनुमान गरेजस्तै धर्मको मर्म/अर्थ बुझ्न नसकेको जस्तो लाग्यो, नेपाली जनताहरुले । धर्मको खाटी कुरो बुझाउन नसकेका पण्डितहरुमा र धर्मको भेउ पाउन नसकेका नेपालीहरुमा घैटोमा घाम लाग्ला कि भन्ने अभिप्रायले यो लेख सम्प्रेषण गर्दैछु । वैदिक सनातन धर्मको यथार्थतालाई आत्मसात गरी सोही अनुरुपको व्यवहारिक जीवन अपनाउनु हाम्रो अहं कत्र्तव्य हो ।
वैदिक : वेदमा दिएको शिक्षाअनुरुप चलेको समाज र संस्कारहरु ।
सनातन : अति प्राचीन, आदिमकालदेखि, सृष्टिको सुरुवातसँगै ।
धर्म : अन्तरनिहीत गुृणलाई धारणा गर्नु । उत्तरदायित्व बहन गर्नु । सत्मार्गमा हिड्नु प्रकृतिको नियमको पालना गर्नु, कर्मको फल प्राप्ति ।
यहाँ भनिएको शब्दार्थअनुरुप जाने हो भने अति प्राचीनकालदेखि वैदिक संस्कारअनुसार चलिआएको धर्म नै वैदिक सनातन धर्म भन्ने बुझिन्छ । वेद भनेको ज्ञानको भण्डार र ईश्वर प्राप्तिको सुमार्ग हो । यो अगाडिको कल्पसम्म वेद हावामा नै ध्वनीको रुपमा तरङ्गीत हुन्थ्यो र तन्त्रका ज्ञाताहरुले मात्र वेद पढ्न सक्दथे । यही कल्पको तेत्रायुगमा नेपालको दमौलीमा जन्मनुभएका वेदव्यास ऋषिले ४ वेदलाई संस्कृत भाषामा लिपिबद्ध गरिदिनुभयो । हिजो आज पश्चिमेलीहरुले हाम्रो भाषालाई ईश्वरको भाषा The Language of God भनेर बुझ्न थालेका छन् । जगत कल्याणको निम्ति लेखिएको चार वेद भित्र ईश्वर, योग, ध्यान, असल जीवन पद्दति, ज्योतिषशास्त्र, बास्तुशास्त्र, अर्थशास्त्र, कला–संगीत साहित्य, आयुर्वेद, वैज्ञानिक आविष्कारहरु आदि इत्यादी कुराहरु उल्लेखित छन् । सभ्यताको पहिलो साहित्य, वैज्ञानिक आविष्कारहरुका पिता र सम्पूर्ण धार्मिक ग्रन्थहरुको मूलश्रोत वेदलाई नै मानिन्छ ।
धर्म भनेको निधारमा खरानी धस्नु, रुद्राक्षको माला जप्नु, पहेंलो पहिरन लगाउनु, पूजापाठ गर्नु, धर्म भनेर आममानिसले बुझ्दै आएका छन् । यस्ता कार्यहरु आत्मा शुद्धिकरणको लागि गरिएको धार्मिक कार्य भन्न मिल्छ तर धर्म होइन । ‘धर्म धारयते इति धर्म’ भनेर गीतामा भनेझैं धर्म भनेको आफ्नो गुण ‘धारणा’ गर्नु हो–उत्तरदायित्व बहन गर्नु हो । जस्तो कि पानीको धर्म शितलता दिनु/प्यास मेटाउनु हो । आगोले सानो ठूलो, धनी गरिब यो या त्यो भन्दैन, डढाउँदछ किनकि आगोको धर्म नै पोल्नु÷डढाउनु हो । त्यसैगरी न्यायाधीशको धर्म पीडितलाई न्याय दिनु हो भने प्रहरीको धर्म कानुन पालना गराउनु हुन्छ । राजनेताको धर्म भनेको राष्ट्र र जनतालाई सर्वोपरी ठानेर सेवामा समर्पित हुनु हो । राजाको धर्म भनेको स्नेही पिता बनेर राष्ट्र चलाउनु हो । धर्म छोड्यो भने आफ्नै अस्तित्व बिलाउँदै जान्छ । सिँउडी रोपर सूर्यमुखी फूलको आश गर्नु मूर्खता हुन्छ । बिडम्बना ! धर्मको मर्म बुझेन्न कसैले घीनलाग्दो र कुकृत्य गर्दै हिडें सबैले । निर्दोष नेपाली जनताहरुले धर्मको सहीरुप देख्न पाएनन र वितृष्णा जाग्यो सबैमा ।
यसरी हेर्दा वैदिक सनातन धर्म ईश्वर प्राप्तिको सुमार्ग देखाउने र सभ्य सुसंस्कृत समाजको निर्माण गर्ने ज्ञानको भण्डारको रुपमा फैलिएको संजाल हो । कुनै एउटा जाति विशेष वा समुदायले अपनाएको धर्म हुँदै होइन । यहाँ सूर्य (अग्नी), पंचतत्व (प्रकृति) को पूजा/उपसना गरेको मात्र पाइन्छ । हुन पनि सूर्य र प्रकृतिको अनुपस्थितिमा कुनै पनि जीव–जीवात्मा र वनस्पतिको अस्तित्वको कल्पना पनि गर्न सकिदैन । ब्रम्हाण्डमा श्रृष्टिकर्ता सत्गुरु गोरखनाथ शिव बाबा प्रकृतिका मालिक नागराजा–परम ज्योति हुनुहुन्छ । ‘शिव’ भनेको प्राण हो । शिवको (ि ईश्वर ई) ई उडेर गएपछि हामी शव (मुर्दा) मा परिणत हुन्छौ । विष्णुलाई पालनकर्ता र महेश्वरलाई संहारकर्ता (पुनः श्रृष्टिको खातिर भष्म गर्ने) को रुपमा वैदिक सनातन धर्मले भन्दै आएको छ । कल्प, युग र देशकाल परिस्थिति अनुरुप देव–देवताहरु, ऋषिमुनिहरु, धर्मप्रबर्तक र शान्तिका दूतहरु यस धर्तीमा आउने गर्दछन् । सबैलाई सत्गुरु गोरखनाथ ‘शिव’ बाबा बाट खटाइएको हुँदोरहेछ । सबै धर्म समुदायको प्रवर्तकहरुले म ईश्वरको पुत्र हुँ I am the son of God भनेका नै छन् । बाबा ब्रम्हाण्डको परमज्योति स्वरुप भएतापनि हामी सबै जीवन जीवात्माको कण–कणमा पनि बास गर्नुहुन्छ । कुनै घमण्डी भौतिकवादीले अहिले अध्यात्मलाई खैरो खनेतापनि पछि उसले बुझ्दै जान्छ “म अदृश्य शक्तिद्धारा संचालित छु । प्रकृतिको नियममा बाँधिएको छु” भनेर आत्मासाक्षी हुन थाल्दछ । सबै धर्महरु ॐकार परिवारभित्रकै सदस्यहरु हुन् । उच्चाहरणमा थोरै फरक भएतापनि सबै धर्मले ॐको उच्चारण गरेका हुन्छन् । सूर्य र पञ्चतत्व (प्रकृति) लाई पूजा गरेकै हुन्छन् । नाग–त्रिशुल र शिवलिंगलाई आराधना गरेकै हुन्छन् । त्यसैले हामी नेपालीहरुले अल्मलिनुपर्ने ठाउँ छैन । वैदिक सनातक धर्म करिब ३ लाख वर्ष अघिदेखि चलिआएको ईश्वर प्राप्ति सत्मार्ग र मानव धर्म हो । विश्वमा प्रचलित अहिलेका सबै धर्महरु हिन्दू, बौद्ध, मुस्लिम, क्रिश्चियन, सिख, जैन, टाओ, आदि इत्यादी धार्मिक समुदायहरु हाम्रो वैदिक सनातन धर्मको हाँगाहरु मात्र हुन् । मान्ने तरिका र बाटो फरक भएतापनि सबै धर्म समुदायको भाव, नीति र गन्तव्य एउटै छ– वैदिक सनातन धर्मले सिकाएजस्तै ब्रम्ह्ज्ञान र ईश्वर प्राप्ति ।
वैदेकि सनातन धर्मको उद्गमस्थल नेपाल नै हो । नेपाललाई अघिल्लो युगहरुमा सत्यवती, तपोवती, मुक्ति दायिनी र नेपाल मण्डल भनेर भनिन्थ्यो । यही पूण्यभूमिबाट विभिन्न धार्मिक समुदायहरुको प्रादूर्भाव भयो । त्यसैले नेपालमा धार्मिक स्वतन्त्रता दिनुमा केही आपत्ति छैन तर उसले आफ्नो धर्मको मूल मर्मलाई आत्मसात गरेको हुनुपर्दछ । कुल पितृ र नागलाई मानेर आफ्नो संस्कारहरुलाई निरन्तरता दिनुपर्दछ । नेवारले गुरुङको चलन/सँस्कृति अपनाएको पटक्कै सुहाउँदैन भने क्रिश्चियनहरुले पनि मुसलमानको संस्कार अपनाएको उचित हुँदैन । जो जे छ, त्यही ठिक छ । एउटा धार्मिक समुदायले अर्को धार्मिक समुदायको निन्दा गरेको कदापि राम्रो होइन । बाटो र विधिमात्र फरक छ, गन्तव्य एउटै छ । सबै धर्महरुमा–पञ्चशील, सदाचार, सत्मार्ग, मानवता, कर्मको फल र ईश्वर प्राप्ति जस्ता मूलभाव एउटै हुन्छ । नेपाल राष्ट्र सबै धर्म धार्मिक समुदायको उद्गमस्थल, फूलबारी र आश्रयस्थल भएको हुँदा कुनै एक विशेष धर्मको नाउँमा राजनीतिकरण गरिनु हुँदैन । अनगिन्ति सभा र छलफल गरेतापनि ‘छल’ जनतालाई दिने र ‘फल’ आफूले खाने सुँगर स्वाँठ नेताहरुको नियत राम्ररी बुझ्ेका छन् नेपाली जनताले हिलो र चन्दन, काँस र कुस राम्ररी छुट्याउन सक्ने भैसके नेपालीहरु । जिब्रो चपाएर बोल्ने धार्मिक अगुवाहरुले अस्ति भर्खर जन्मेको धर्महरुको बुई चढेर आदिम युगदेखि चलिआएको नेपालको वैदिक सनातन धर्ममा जूठो हाल्ने दुष्प्रयास मात्र गरेका हुन् ।

No comments:
Post a Comment