लटैनाथ मल्लिकार्जुन

Friday, 3 March 2017

ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)

सूर्यग्रहण किन र कसरी ?नेपाल र भारतबाहेकका अन्यदेशमा सूर्यग्रहणको आध्यामित्क महत्व छैन, तर यसको विशिष्ट वैज्ञानिक महत्त्व भने संसारको जुनसुकै कुनाका गणितज्ञ र वैज्ञानिकहरूमा देख्न पाइन्छ । संसारभरिका वैज्ञानिकहरूका लागि यो दिन कुनै एउटा ठूलो चाडसरहको दिन हो भन्दा अत्युक्ति हुँदैन । सूर्यग्रहण लागेको दिन सनातन धर्मावलम्बीहरू कठिनतम मन्त्रजाप गर्दछन् र सिद्धिप्राप्त गर्दछन् भने शोधकर्ता, अन्वेषक र वैज्ञानिकहरूले नयाँ शोध गर्ने अवसर प्राप्त गर्दछन् । त्यसैले आध्यात्मिक वा भौतिकवादी जुन दृष्टिबाट पनि धेरैले सूर्यग्रहण लाग्नेप्रतीक्षामा लामो समय बिताउने गर्दछन् । ब्रह्माण्ड, सूर्य र सौर परिवारलाई जान्न, बुझ्न र अध्ययन गर्न यस दिन गरिने विशिष्ट प्रयोगकोआफ्नै वर्चस्व र महत्त्व छ । आधुनिक विज्ञानले सूर्यग्रहणका दिन सूर्यबाट निसृत हुने किरणको अध्ययन गरी नयाँनयाँ शोधका लागि प्रेरित गर्दछ भने अध्यात्म विज्ञानले यज्ञ, जाप र अनुष्ठानका माध्यमबाट गूढ रहस्य र सिद्धिका लागि मार्गनिर्देश गरेको पाइन्छ । सूर्यग्रहण केकसरी सम्भव हुन्छ त? आउनुहोस् यस सम्बन्धमा चर्चा गरौं :—सामान्य अर्थमा कुनै खगोलीय पिण्डलाई पूर्ण वा आंशिक रुपले कुनै अर्को पिण्डले ढाक्नु नै ग्रहण हो । पृथ्वीबाट हेर्दा जब कुनै खगोलीयपिण्ड कुनै अर्को पिण्डद्वारा बाधित भई नदेखिने अवस्था आउँछ, त्यसलाईसूर्यग्रहण वा चन्द्र ग्रहण भन्ने गरिन्छ । सूर्य आकाशको एउटा उज्ज्वल नक्षत्र र प्रकाश पिण्ड हो, जसको चारैतिर सौर्य परिवारका ग्रहहरू आफ्ना उपग्रहका साथमा परिक्रमा गर्ने गर्दछन् । हामी बस्ने पृथ्वी सौरपरिवारको एउटा सदस्य ग्रह हो । यसमा हामीले बसोबास गर्ने भएकाले यहाँबाट हेर्दा पृथ्वीको रेखामा अरू कुनै दुईवटा खगोलीय पिण्डहरू सँगसँगै आइपुगेको अवस्था सिर्जना भएको छ भने ग्रहण लाग्छ । पृथ्वी बीचमा रहेर यसको माथि र तल समान रेखामा सूर्य र चन्द्रमा आएकोवेला चन्द्र ग्रहण लाग्दछ भने पृथ्वी र सूर्यको माझमा चन्द्रमा आइपुगेपछि सूर्यग्रहण लाग्दछ । अतः सूर्यग्रहणको संरचना आंशिक वा पूर्णरूपले चन्द्रमाद्वारा ढाकिएको अवस्थामा मात्र हुन्छ, त्यसैले त्यस वेला पृथ्वीमा बसोबास गर्ने आममानिसले चन्द्रमाद्वारा ढाकिएको सूर्यको भाग वा अंश देख्न सक्दैनन् ।पूर्वीय ज्योतिषमा उल्लेख भएअनुसार सूर्यग्रहणको सिर्जना हुन निम्न तथ्य हुनु आवश्यक ठानिन्छ :-·सूर्यग्रहण लाग्ने दिन अमावस्या (औंसी) तिथि हुनु आवश्यक छ ।·ग्रहणको समयमा चन्द्रमा र सूर्यको रेखांश क्रमशः राहु र केतुको नजिकमा हुनु पर्दछ ।·त्यस्तै चन्द्रमाको अक्षांश शून्य नजिक हुनु पनि आवश्यक हुन्छ ।·यद्यपि ग्रहणको गणितीय स्थिति रात्रीको समयमा पनि हुनसक्छ, तर सूर्यग्रहणको प्रत्यक्ष अनुभूति दिउँसो (सूर्योदयदेखि सूर्यास्तसम्म)को समयमा मात्र हुन सक्दछ ।यहाँ रेखांश भन्नाले पृथ्वीको उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म काल्पनिक ढंगले कोरिएको रेखा भन्ने हो, जसलाई देशान्तर पनि भनिन्छ । त्यस्तै भूमध्यरेखाको तल र माथि समानान्तर ढङ्गले कोरिएका काल्पनिक रेखालाई अक्षांश भन्ने गरिन्छ । सूर्यग्रहण सदैव अमावस्या (औंसी) का दिन लाग्ने गर्दछ । सूर्यग्रहणका समयमा चन्द्रमा सूर्यको काल्पनिक वृत्तको मार्गमा वा मार्गको निकटतम भई गतिशील हुन्छ एवं सूर्य र चन्द्रमाको कोणीय व्यास समान हुन्छन् । यस्तो परिस्थितिमा सूर्यबाट पृथ्वीमा आउने प्रकाश छोपिन्छ । यसरी सूर्यको प्रकाश छोपिएको अवस्था नै सूर्यग्रहण हो । चन्द्रमाको शीघ्र गति हुने भएकाले सूर्यबिम्बमाथिपर्ने चन्द्रमाको छाया केही समयसम्म मात्र देख्न सकिन्छ । चन्द्रमाकोछायाको गति न्यूनतम १८०० किलोमीटरसम्म र अधिकतम ८००० किलोमिटरसम्म हुने गर्दछ । त्यसैलै कुनै पनि स्थानमा पूर्ण रूपमा सूर्यग्रहण अधिकतम साढे सात मिनेटसम्म मात्र सम्भव हुन्छ ।सूर्यग्रहण तीन किसिमका हुन्छन् :-१. पूर्ण सूर्यग्रहण (खग्रास सूर्यग्रहण, Annular Solar Eclipse)चन्द्रमाले पृथ्वीको भूभागमा सूर्यको कुनै पनि भाग नदेखिने गरी छोपी सिर्जना भएको ग्रहणलाई पूर्ण सूर्यग्रहण ( Annular Solar Eclipse ) भनिन्छ । यस्तो ग्रहणलाई नै खग्रास ग्रहण भन्ने गरिन्छ । यसरी ग्रहण लाग्दा सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न सक्दैन, संसार अन्धकारमय हुन्छ, पृथ्वीको जुन क्षेत्रमा त्यसरी प्रकाश छेकिएको हुन्छ, त्यहाँ रात परेझैं भान हुन्छर आकाशमा ताराहरू देखिन थाल्छन् ।२. आंशिक सूर्यग्रहण (खण्डग्रास सूर्यग्रहण, Partial Solar Eclipse)पृथ्वी र सूर्यको मध्यभागमा चन्द्रमाको केही भाग मात्र परेर सूर्यको केही भाग देखिने र केही भाग नदेखिने ग्रहणलाई आंशिक सूर्यग्रहण (Partial Solar Eclipse) वा खण्डग्रास सूर्यग्रहण भन्ने गरिन्छ । यस्तो ग्रहण लागेको अवस्थामा सूर्यको केही भाग ग्रहणको प्रभावमा रहने र केही भाग ग्रहणको प्रभावमा नरहने अवस्था हुन्छ । यसरी ग्रहण लागेको अवस्थामा पृथ्वीबाट सूर्यलाई हेर्दा खुँडे आकारमा सूर्य देख्न सकिन्छ ।३. वलय सूर्यग्रहण (कङ्कणाकृति सूर्यग्रहण, Elliptical Solar Eclipse)वलय सूर्यग्रहणलाई दुर्लभ किसिमको सूर्यग्रहण मान्ने गरिन्छ । यस किसिमको सूर्यग्रहणमा चन्द्रमाले सूर्यलाई वरिपरिको घेरो बाँकी राखी सूर्यबिम्बको बीचमा मात्र ढाक्दछ । अर्थात् यस ग्रहणमा सूर्यबिम्बको मध्य भागमात्रचन्द्रमाको छायाक्षेत्रमा आउँछ । सूर्यको बाहिरी वृत्तमात्र पृथ्वीवासीले देख्ने भएकाले यो चुरा वा बालाजस्तो देखिन्छ । बालाको आकारमा देखिने भएकाले नै यस किसिमको सूर्यग्रहणलाई बलय सूर्यग्रहण भनिएको हो ।धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार सूर्य ग्रहणमत्स्य पुराणमा सूर्य ग्रहण र चन्द्र ग्रहणको कथाको सम्बन्ध राहु र केतु नामका दुईवटा ग्रह एवं तिनले अमृत पान गरेको कथासँग गाँसिएको देखिन्छ । कथाबमोजिम राहु र केतुको स्वरूप स्वर्भानु नाम गरेको एउटा राक्षसको टाउको र गिंडबाट सिर्जना भएको हो । समुद्रमन्थनपछि अमृत वितरणका समयमा दैत्यगुरु शुक्राचार्यले गुप्तचरका रूपमा स्वर्भानुलाईदेवसभामा पठाएका थिए । त्यहाँ देवता र दैत्यहरूलाई पङ्क्तिबद्ध राखेरमोहिनी रूपमा भगवान् विष्णु अमृत वितरण गर्दै थिए । भगवान् शिवको परमभक्त भएकाले शिवकृपाका कारण स्वर्भानुले विष्णुको मोहिनी रूपलाई चिनेको थियो । त्यसैले ऊ देवताको रूप धारण गरी सूर्य र चन्द्रमाको बीचमा गएर देवताको पङ्क्तिमा बसेर अमृत थाप्न र खान सफल भयो ।राहु र केतुअमृतपान गरेकाले स्वर्भानुले अमरत्व प्राप्त गर्यो । तर उसले अमृतपानगरिसकेपछि सूर्य र चन्द्रमाले ऊ देवता होइन भन्ने चाल पाए र उक्त कुराको जानकारी विष्णुलाई दिए । त्यसपछि भगवान् विष्णुले तुरुन्त सुदर्शन चक्र प्रहार गरी उसको शिर र शरीर (गिंड) लाई छुट्याइदिनु भयो। आफूले अमृतपान गर्न लागेको अवस्थामा विष्णुलाई पोल लगाएको हुनाले राहु र केतुले पटकपटक सूर्य र चन्द्रमालाई डँस्ने गर्दछन्, जुन ग्रहणका रूपमा देखा पर्ने गर्दछ । त्यसैले जुनजुन दिन सूर्य वा चन्द्र ग्रहण लाग्दछ, त्यस दिन राहु र केतुको अक्षमा सूर्य र चन्द्रमाको प्रवेश हुन्छ ।ग्रहण लागेको वेला के गर्ने र के नगर्नेविज्ञानले ग्रहणलाई भौतिक दृष्टिकोणले जति महत्त्व प्रदान गर्दछ, सनातन हिन्दू धर्मले यसलाई त्यत्तिकै आध्यात्मिक महत्त्व प्रदान गर्दछ । हाम्रा ऋषि-मुनिहरूले सूर्य ग्रहणको अवधिभरि र सूर्यग्रहण लाग्नुअघिको चार प्रहर (१२ घण्टा) को अवधिमा भोजनादि गर्नु हुँदैन भनेका छन् । ग्रहण अवधिमा सूर्यबाट निःसृत हुने किरण असामान्य हुन्छ,जसका कारण पृथ्वीका जीवजन्तु र किराफट्याङ्ग्राहरू अत्तालिन्छन् र यत्रतत्र विचरण गर्ने गर्छन् । त्यसैले सूक्ष्म कीटाणुको संसर्गले अन्नजल आदि दूषित हुन्छ । त्यसरी दूषित भएको अन्नजल स्वास्थ्यका दृष्टिकोणले ग्रहण गर्नु हीतकारी हुँदैन भन्ने तर्क हाम्रा आचार्य र ऋषिमुनिको हो । वैज्ञानिक र डाक्टरहरूले पनि हाल यस तथ्यलाई स्वीकारेको पाइन्छ । धार्मिक मान्यताअनुसार ग्रहणको समयमा खाद्य वस्तु, जल आदिमा सूक्ष्म जीवाणु एकत्रित भएर तिनलाई दूषित तुल्याउँछन् । त्यसैले ऋषिमुनिले अन्नजलको पात्रमा कुश (एक किसिमको पवित्र घाँस) हालेर सुरक्षित राख्न निर्देशन दिएका छन् । यसरी कुशको प्रयोग गर्दा ती कीटाणु त्यसै कुशमा एकत्रित भएर बस्छन् र ग्रहणको समाप्तिमा त्यस कुशलाई कुनै नदीमा प्रवाहित गरेमा वा खाल्डो खनी विसर्जन गर्दा ती कीटाणु पनि मिल्काइन्छ र अन्न जलको सुरक्षा गर्न सकिन्छ । ग्रहणको समाप्तिमा भाँडाकुँडालाई आगोले तताएर पवित्र पारिन्छ र शरीरलाई स्नानद्वारा शुद्ध बनाइन्छ ।पौराणिक मान्यताबमोजिम चन्द्र ग्रहणको समयमा कफको प्राधान्य हुन्छ एवं मनको शक्ति क्षीण हुने गर्दछ, जबकि सूर्य ग्रहणको समयमा जठराग्नि, आँखा (नेत्र) तथा पित्तको शक्ति कमजोर हुन्छ । सूर्यग्रहणको अवधिमा मनुष्यको स्नायु प्रणाली र मस्तिष्क प्रभावित हुने गर्छ । गर्भवती स्त्रीले त कुनै पनि ग्रहणको दर्शन गर्नुहुँदैन,अझ सूर्यग्रहणको अवस्थामा बन्दकोठामा झ्यालढोका समेत थुनेर बस्नु पर्दछ । सूर्य ग्रहणको दुष्प्रभावले शिशु अपाङ्ग हुनसक्छ, अपाङ्ग नै नभए पनि उसको मानसिक र दिमागी सन्तुलनमा कुनै न कुनै असर पर्ने गर्छ भन्ने मान्यता रहेकाले तिनीहरूले यथाशक्य ग्रहणको दुष्प्रभावबाट जोगाउन हाम्रा धार्मिक ग्रन्थमा निर्देशन दिइएको हो ।ग्रहण लागेको वेलामा धर्मशास्त्रले गर्न नहुने भनी निषेध गरेका कुराहरू :-१) ग्रहणको अवधिमा सुत्नु, तेल लगाउनु, भोजन गर्नु, पानी पिउनु, दिसापिसाब गर्नु, कपाल कोर्नु, मैथुन गर्नु र दाँत माँझ्नु हुँदैन । यस वेलामा कसैसँग झगडा गर्नु, कसैलाई खिसीट्युरी गर्नु वा जिस्क्याउनु पनि हुँदैन, सकेसम्म मौन रहनु पर्दछ, एकान्तमा बस्नु पर्दछ ।२) ग्रहणको अवधिभरि तालाचाबी, कैंची, चक्कु वा कुनै हातहतियारको प्रयोग गर्नु हुँदैन । खासगरी गर्भवती स्त्रीले हातहतियार वा सियोधागोको प्रयोग गरेमा पछि जन्मने बच्चा खुँडे वा कुनै अङ्ग विकलाङ्ग भई जन्मने डर हुन्छ ।३) ग्रहणको समयमा भगवान् शिवको मन्दिरबाहेक अन्य समस्त देवीदेवताको मन्दिर बन्द हुने गर्दछ । त्यसैले ग्रहणअवधिमा भोलेशङ्कर भगवान् शिवको मन्दिरमा बाहेक अन्यत्र गई दर्शन, पूजा वा आराधना र मूर्तिपूजागर्नु हुँदैन । तर यस अवधिमा भगवान् शिवजीका लागि गरिएको अनुष्ठान र साधनाले अक्षय पुण्य प्राप्त गर्दछ ।ग्रहण लाग्दा गर्नै पर्ने अत्यावश्यक कुराहरू :-१) ग्रहण लाग्नुभन्दा पहिले नै कुनै पवित्र नदी वा तलाउमा गई स्पर्श,मध्य र मोक्षकालमा कम्तीमा तीन पटक स्नान गर्दै इष्टदेवताको पूजाआराधना तथा कुनै सिद्ध वा इष्ट मन्त्रको जाप र साधना गर्नु पर्दछ।२) ग्रहणकालमा र ग्रहणको समाप्तिमा स्नानोपरान्त गरीब गुरुबा, जोगीसन्यासी र ब्राह्मणलाई अन्न, वस्त्र, भूमि, स्वर्ण, गौ, शय्या, छाता, जुत्ता आदि दान गर्ने विधान छ। ग्रहणकालमा दान गर्ने अनुकूलता नभएमा ग्रहणसमाप्त भए पनि दिनभरिमा ब्राह्मण, गरीवगुरुबा, मठमन्दिर, प्रतिष्ठान, अनाथालय, बृद्धाश्रममा गई दान गर्नु वाञ्छनीय छ । त्यसरीदान गर्दा ग्रहण लागेको महिनाको कुल आम्दानीको दशांश (१०%) दान गर्नुपर्दछ । त्यत्ति पनि दान गर्ने अनुकूलता नभएमा कम्तीमा ग्रहण लागेको दिनको समस्त आम्दानी त्याग्नु श्रेयस्कर हुन्छ ।३) ग्रहणअवधिमा गर्भवती स्त्रीले झ्यालढोकासमेत थुनी अँध्यारो कोठामाबसी भगवान् सूर्यको मन्त्र र स्तुतिको जाप गर्नु पर्दछ ।४) घरमा भएका अन्नपात र अन्य खाद्यसामाग्रीलाई ग्रहणको प्रभावबाट जोगाउन त्यसमा कुश, दुबो वा तुलसीपत्र राखिदिनु पर्दछ । त्यस्तै ग्रहण समाप्त भएपछि आफ्नो घर, कोठा, चोटा, अन्नपात र परिसरमा गङ्गाजल छर्कनुपर्छ । त्यसपछि अन्नजलको सङ्ग्रह गरी खानेकुरा बनाई भगवान् र इष्टदेवतालाई चढाई आफूस्वयंले ग्रहण गर्नुपर्दछ ।कसले कसले ग्रहण स्नान र दान गर्नु अनिवार्य छ :-सामान्यतया ग्रहण लागेको अवसरमा स्नानदान र शुद्धाशुद्धिका लागि जोसुकैका लागि पनि पुण्यदायक हुन्छ । तर पनि ज्योतिषीय दृष्टिले सूर्य र चन्द्रमाको अनिष्टता भएका जातकहरूले ग्रहणमा तीर्थस्नान र दानादि अवश्य गर्नुपर्दछ । तलको अवस्था भएका व्यक्तिले ग्रहण लागेको अवस्थामा विशेष अनुष्ठान गर्नु अनिवार्य मानिन्छ ।१) बाल्यावस्थामा नै माता, पिता वा दुबैको निधन भएका जातकका लागि ग्रहण स्नानले जीवनचर्यामा सुखसम्मृद्धि प्रदान गर्दछ ।२) जन्मकुण्डलीमा सूर्य र चन्द्रमाका साथमा राहु वा केतु एउटै कोठा (राशि) मा बसेको भए त्यस्ता जातकले अनिवार्य रूपमा ग्रहणको समयमा स्नानदानादि गर्नु पर्दछ, यसो गरेमा त्यस्तो योगबाट सिर्जना हुने दुष्प्रभावबाट मुक्त हुन सकिन्छ ।३) कार्तिक महिना वा बृश्चिक राशिमा जन्म भएका वा जन्मकालमा अष्टम गृहमा सूर्य वा चन्द्रमा भएका जातकले पनि ग्रहणमा स्नानदानादि गरी पुण्यार्जन गर्नु आवश्यक मानिन्छ ।सारांश सूर्य ग्रहण ज्योतिषशास्त्र, खगोल विज्ञान र धर्म तथा संस्कृतिका लागि महत्त्वपूर्ण अवसर हो । यस अवसरमा प्रशस्त दानादि गर्न शास्त्रले औंल्याएको पाइन्छ । त्यसैले ग्रहणको समयमा मनैबाट सत्पात्रलाई दान दिनु पर्दछ । यसो गर्नाले दान दिने वा दान लिने दुवैको कल्याण हुन्छ । हामीकहाँ ग्रहणको दान लिनु हुँदैन भन्ने अफवाहछ, तर शास्त्रले कुनै ब्राह्मणलाई ग्रहण दान लिनु हुँदैन भनी निषेध गरिएको छैन, ग्रहणकालमा (जतिबेला ग्रहण लागिरहेको अवस्था हुन्छ, त्यतिबेला ) दिए/लिएको दानको कुनै फल पाइँदैन, तर ग्रहणको समाप्तिपछि स्नानादिबाट शुद्ध भई दानादि गर्नु पर्दछ र यसरी गरिएको दान जसले पनि ग्रहण गर्नुहुन्छ । दान गर्नेले अक्षय पुण्य प्राप्त गर्दछ भने दान लिनेले पनि पुण्य नै प्राप्त गर्दछ ।

No comments:

Post a Comment

ज्ञान विज्ञान और धर्म

🌅 शास्त्र अनुसार छठ पूजा की शुरुआत, महत्त्व और कहाँ-कहाँ मनाई जाती है

  🌞 छठ पूजा का परिचय छठ पूजा हिंदू धर्म का एक अत्यंत पवित्र और वैज्ञानिक पर्व है, जो सूर्य देव और छठी मैया की उपासना के लिए समर्पित है। यह ...

पौराणिक ज्ञान