लटैनाथ मल्लिकार्जुन

Saturday, 26 August 2017

ऋषि पञ्चमी


( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य: श्री हरिप्रसाद जोशी )
+917411535357
कञ्चनपुर नेपाल/ ब्याङ्गलोर भारत 26 Aug 2017

तीजले बिदा माग्ने बित्तिकै दैलोमा अर्को नारीप्रधान चाडले ढकढक्याँउदछ, स्वागत छ यो ऋषि पञ्चमीको दिन विशेषमा । तीजको व्रत पछिको हिजोको एकदिन विट मारेर फेरि दिदिवहिनी अनि आमाहरुले आजको दिन पुनः त्यहि उत्सर्ग र उत्साहकासाथ मनाउने दिन हो 'ऋषि पञ्चमी' ।

हरियाली मौसममा जताततै हरियाली अनि भिजेका माटाहरु छन्, बादलहरु थोपाथोपा मा पग्लिरहेका छन् अनि जलको स्पर्शले माटोहरु पुलकित भएका छन् । रातो सारी, गरगहना अनि नारी भेलाहरुले चोक चौराहा अनि मठमन्दिरहरु खचाखच छन् । आज ऋषि पञ्चमी, अर्थात् नारीहरुले सप्त ऋषिहरुको पूजा अर्चना गर्ने विशेष दिन ।
आजको दिन रजस्वाला हुन शुरुभइसकेका महिलाहरुले रजस्वाला हुँदा आफूबाट केही गल्ति या अमर्यादित क्रियाकलाप भएको भए ती कुराहरुको शुद्धाशुद्धिकालागि पूजा अर्चना गर्ने दिन हो । मानव श्रृष्टि नारीहरुविना संभव छैन र हामीले रजस्वालालाई जत्तिकै लुकाएर अनि छुवाछुत उन्मुख सोंचले हेरेपनि श्रृष्टिको प्रथम र पूण्य गुणनै नारीहरुको रजस्वाला हो । रजस्वाला नारीहरुको गर्भाधान गर्नसक्ने क्षमताको प्रतिक अनि उनीहरूमा हुने एउटा नितान्त प्राकृतिक प्रक्रिया हो ।

ऋषि पञ्चमीको इतिहास हजारौं वर्ष पुरानो छ र त्यतिकै पुरानो छ वैदिक सनातन संस्कारले नारीहरुको यौन तथा प्रजजन स्वास्थ र अधिकारलाई दिएको महत्वको इतिहास । नारीलाई रजस्वालाको ४ दिनहरुलार्इ चारवटा देवीहरु अनुरुप तुलना गर्ने चलन छः प्रथम दिन चण्डालनी, दोश्रो दिन ब्रह्मधातिनी, तेश्रो दिन धोबिनी र चौंथो दिन स्नान गरि शुद्ध हुने चलन छ ।

शास्त्रहरुले पनि रजस्वाला र महिलाहरूको यस प्राकृतीक गुणप्रति समस्त मानव जगतको ध्यानाकर्षित गर्न ऋषि पञ्चमीको परिकल्पना गरेको हुनपर्दछ । गर्भाधान नभएका डिम्बहरु महिलाको गुप्ताङ्गबाट निष्काषित हुने सरल र सामान्य प्रक्रियानै रजस्वाला हो । यसलाई कुनै दोष भन्दा पनि एउटा विशेष क्षमता र श्रृष्टिको कारकका रुपमा अभिब्यक्त गर्दै आजका दिनमा रजस्वालालाई नितान्त सामान्य अनि छुवाछुत भन्दा पनि सरसफाईलाई प्राथमिकता दिंदै, महिलाहरुलाई यस अवधिभर आराम र ख्याल गर्ने वातावरण सृजनाको प्रतिबद्धता कायम गर्न जरुरी छ । नारीहरु भनेको माया र शक्तिका प्रतिमुर्तीहरु हुन र देवीहरु हुन त्यसैले त शास्त्रले पनि नारीलाई यसरी वर्णन गरेको छः

या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

या देवी सर्वभूतेषु ज्ञानरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

या देवी सर्वभूतेषु एश्वर्यरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

शत्तिका रुपमा सर्वब्यापी अनि जगतमा सम्पूर्ण कुरामा रहेकी नारीलाई हाम्रो हार्दिक नमन ।

महिनावारीलाई छुवाछुतसँग तुलना गरिएको शास्त्रीय कथनको अपव्याख्या हो भन्ने प्रष्ट छः
महिनावारीको समयमा पर्याप्त आराम होस् भनेंर परापूर्व कालमा भान्सा अनि अन्य कामहरु गराउन निषेध गरिएको हो । पछि गएर यो निषेधलाई छुवाछुत अनि दोषका रुपमा लिन थालिएको हो । स्मरण रहोस् नारीहरुको रजस्वालाको रगत नै जगतको आधार हो, श्रृष्टिको सार यहीँबाट त हुरु हुन्छ ।

आजको दिन नारीहरुले उपमार्ग अर्थात् एउटा विशेष प्राकृतीक जडिवुटी गुण यूक्त वनस्पतिको प्रयोग गरेर विहान आफ्नो नित्यकर्म सकाएपछि दात माँज्ने र चपाउने गर्दछन, उपमार्ग नेपाली माटोमा सहज रूपले उपलब्ध एउटा वनस्पति हो । संस्कृत शब्द उपमार्ग भन्नाले रोग नाशक भन्ने बुझाउँदछ । १०८ वटा उपमार्गका डाँठका टुक्राहरुको प्रयोग गरेपछि आफ्नो शरीरमा माटोको प्रयोग गरेर नारीहरुले नजिकैको खोलानाला या तालतलैयामा गएर स्नान गर्ने गर्दछन । स्नान गरिसकेपछि पञ्चभाग्य अर्थात दूध, दहि, घ्यू, दुवो, कुश र गोवर मिसाएर तामाको भाडोमा राखिएको कुराको एक वा दुइ थोपा सेवन गर्ने सनातन चलन पनि चलि आएको छ ।

पञ्चभाग्यको सेवनले क्षयरोग अनि चर्मरोगहरु नहुने र भएकोभए पनि निको हुने विश्वास रहेको छ । यसरी विहानै स्नान गरेर शरीर र आत्माको शुद्धि गरिसकेपछि नारीहरुले दियो, कलश अनि गणेश स्थापित गरेर विभिन्न भजन र प्रार्थनागर्दै कश्यप, आरती, भार्गदोज, विश्वमित्र, गौतम, जमदग्नी अनि वशिष्ठलगायतका ऋषिहरुको पूजा र आव्हान गर्ने गरिन्छ । त्यस्पश्चात् ब्राम्हणले रितिअनुसार पूजा अर्चना गरेपछि मात्र ऋषि पञ्चमीको अनुष्ठान पूर्ण हुन्छ ।

आजका दिन दार्चुला,  बैतडी, डडेल्धुरा, कञ्चनपुर कैलाली, बझाङ, बाजुरा, लगायत  काठमाण्डौ टेकुको ऋषेश्वर मन्दिर लगायत देशभरिका विभिन्न ऋषि आश्रमहरुमा विशेष घूँइचो लाग्नेगर्दछ । यस दिन नारीहरुले आफ्नो शौभाग्यका सुचक सिन्दुर पोते अनि चुरा धागोहरु चढाउने चलन पनि छ । आजको दिन विशेषतः माटोमा कसैले नरोपेरै आफै प्राकृतिकरुपमा उम्रिएका कुराहरु जस्तै कर्कलालगायतका अन्य कन्दमुलको विशेष तरकारी बनाई सेवन गर्ने चलन छ ।

वैदिक सनातन हिन्दु संस्कारको वैज्ञानीक चाडहरुमध्ये एक ऋषि पञ्चमीको शुभकामना । महिनावारीको समयमा छुवाछुत पनि यसवर्षदेखि नेपाल सरकारले अपराधका रुपमा कायम गरेको छ । अबका दिनमा छुवाछुत र छौपडीका कारणले चेलीबेटीले दुःख पाएको अनि मृत्यूवरण गरेका नमिठा खबरहरु सुन्न नपरोस्, यस जगले रजस्वालाको महत्व चालपाओस् ।











No comments:

Post a Comment

ज्ञान विज्ञान और धर्म

🌅 शास्त्र अनुसार छठ पूजा की शुरुआत, महत्त्व और कहाँ-कहाँ मनाई जाती है

  🌞 छठ पूजा का परिचय छठ पूजा हिंदू धर्म का एक अत्यंत पवित्र और वैज्ञानिक पर्व है, जो सूर्य देव और छठी मैया की उपासना के लिए समर्पित है। यह ...

पौराणिक ज्ञान